सङ्गीतको रिटायर्ड जीवन

संख्यामा थोरै गीत गाए पनि थोरै सङ्गीत भरे पनि कसैले यति उचाइ बनाइसकेको हुन्छ कि ती सिर्जना र त्यो योगदानलाई नेपाली सङ्गीतमा कम आँक्न सकिँदैन यस्ता गायक र सङ्गीतकार पनि यहाँ हामी पाउँछौँ ।

जब जब हामी फगत एक नजरमा गीत सुन्छौँ, हामीमा एक तमासको रौनकता छाउँछ । गीतको कला र गीतको शक्ति भनेको त्यो हो । केशवराज पिडालीको शब्दलाई हरिप्रसाद रिमालको स्वर र सङ्गीतले यो अमर गीत बनेको छ । यस्ता र्सजक धेरै कम हुन्छन्, जसले कम सिर्जनामा आफ्नो अमरत्व बचाइसकेका हुन्छन् ।

वि.सं. १९८२ साल असोज ५ गते काठमाडौँको लगनटोलमा जन्मिएका हरिप्रसाद रिमाल बुबा घनश्याम रिमाल र आमा मोहनकुमारी रिमालका ४ छोरा र २ छोरीमध्ये साइँला छोरा थिए । आमा बुवा र दाजुदिदीहरुको माया पाएर हूर्कदै गएका रिमाल घर छिमेकमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रभावमा परी सानैदेखि नाटक र सङ्गीतप्रति झुकाव राख्न थाले ।

बुवा घनश्याम रिमाल राणा प्रधानमन्त्री देवशमसेरको दरबारमा हाकिम पदमा कार्यरत भएका कारण त्यसबेला रिमाल परिवारको आर्थिक हैसियत राम्रै थियो । त्यसैले उनका बुवाले घरमै गुरु राखेर छोराछोरीलाई अक्षर चिनाउने व्यवस्था मिलाएका थिए । त्यसको केही समयपछि रिमाल लालबहादुर महर्जनको घरमा पढ्न जान थाले । लालबहादुरसँग केही शिक्षा हासिल गरेपछि उनी दरबार हाइस्कूलमा भर्ना भए । तर यतिबेलासम्म उनको बालमष्तिकमा सङ्गीत र नाटकले दर्‍होसँग जरा गाडिसकेको थियो । उनी स्कूलबाट भागीभागी नाचगानमा सरिक हुन थाले । यति हुँदाहुदै पनि उनले दरबार हाइस्कूलबाट माध्यमिक तहसम्मको शिक्षा पूरा गरे ।

माध्यमिक तहको पढाइपश्चात् अध्ययनलाई स्थगित गरेका रिमाल त्यसपछि जताजता नाँच्ने, गाउने, र बाजा बजाउने मान्छे भेटिन्थे, त्यतैत्यतै दौडिन्थे । यसैक्रममा उनी एकदिन तलेजु भवानी मन्दिर पुगे । त्यस मन्दिरका पूजारी सानु आचार्य हार्मोनियम बजाउदै गीत गाइरहन्थे । गीत गाउन भनेपछि मरिहत्ते गर्ने रिमालले पूजारीसँग मित्रता बढाउन उपयुक्त ठाने र क्रमशः उनीहरुको घनिष्ठता बढ्दै गयो । सानुले उनलाई गाउन, बजाउन र हार्मोनियम छुन दिन थाले । सानुकै प्रेरणा र हौसला पाएर रिमाल सङ्गीतमा डटेर लाग्न थाले ।

रिमाल तबला, हार्मोनियम बजाउन र गीत गाउन उत्तिकै निपूर्ण् थिए । वाल्य अवस्थामै उनको गायनकलाको ख्याति काठमाडौँ भरि फैलिइसकेको थियो । ठाँउठाँउबाट उनलाई गीत गाउन निम्ता आउँथ्यो । यसरी कार्यक्रममा गीत गाउने र नाच्ने क्रममा उनी लगातार तीन चार दिनसम्म घरै आउदैन थिए । त्यसपछि छोरा हराएकोमा चिन्तित् भएका उनका परिवार उनलाई खोज्न चारैतिर दौडिन्थे तर रिमालचाहिँ कार्यक्रमको सबै काम सकिएपछि थाकेर लखतरान भएपछि मात्रै घर फर्किन्थे ।

हर्रि्रसाद रिमालको दरबारले दरबार हाइस्कूल पढेको बेला बालकृष्ण सम त्यही पढाउँथे । रिमाल अभिनय पनि राम्रै गर्थे त्यसैले बालकृष्ण समद्वारा लिखित नाटक मुकुन्द इन्दिरामा उनले पहिलो पटक बालकलाकारको रुपमा अभिनय गर्ने मौका पाए । र, यो नाटक राजदरबारमा प्रदर्शित गरियो । उनको अभिनयबाट प्रभावित भई समले उनलाई अर्को नाटक प्रल्हादमा पनि अभिनय गर्ने मौका दिए । यो नाटक हर्र्नेमा जुद्धशमशेर पनि थिए । बालक रिमालको अभिनय र गायनकला देखेर चकित भएका जुद्धशमशेरले नाटक सकिने बित्तिकै उनलाई बक्सिसस्वरुप ५०० वटा चाँदीका सिक्का दिए । ११ वर्षा फुच्चे रिमालले १०-१५ ठाउँ बिसाउँदै उक्त पैसा आफ्नो घर लगनटोल पुर्‍याएका थिए । यसपछि पनि उनले नाटक र अभिनयमा निरन्तरता दिइरहे ।

२००७ सालमा भर्खरै प्रजातन्त्र आएको थियो, देशको हरेक क्षेत्रमा केही नयाँ काम गरौँ भन्ने भावना सबैमा प्रबलरुपमा थियो । यस्तैमा तारिणीप्रसाद कोइरालाले बिराटनगरको प्रजातन्त्र रेडियोलाई काठमाडौँमा सारियो । सिंहदरबार परिसरभित्र २००७ साल चैत्र २० गते बिहानबेलुका गरी एक-एक घण्टा कार्यक्रम चलाउने गरी रेडियो नेपालको स्थापना गरियो । सङ्गीत र साहित्यमा रुचि राख्नेहरुका लागि यो दिन विशेष दिन थियो । सबै लाम लागेका थिए, आ-आफ्नो पालोअनुसार गीत गाउन र कविता वाचन गर्न । गीत गाउन खप्पिस रिमाल पनि त्यहाँ पुगिसकेका थिए । यसैक्रममा बालकृष्ण समकी छोरी रश्मिराज्यलक्ष्मी राणाबाट र्सवप्रथम उद्द्घोष भयो- रेडियो नेपालको यस प्रत्यक्ष प्रशारणमा शङ्कर लामिछानेको शब्द र रिमाल रिमालको स्वर र सङ्गीतमा मेरो दिल टुक्रा बनेर एकदिन आँखाको बाटो बहनेछ… बोलको प्रसारण हुँदैछ । आफ्नो गीत गाउने पालो सबैभन्दा पहिला आएकोमा खुशी हुँदै उनले गीत गाए र यही गीतका कारण उनी रेडियो नेपालमा गीत गाउने पहिलो गायक बने ।

रिमाललाई सङ्गीतमा राख्न परिवारका अन्य सदस्यहरुले त्यति अवरोध गरेका थिएनन् तर उनका काका चाहीँ उनी सङ्गीतमा लागेको सुन्न पनि चाहँदैन थिए त्यसैले उनी आफ्नो भतिज सङ्गीतमा लागेर सार्‍है बिग्रियो भनेर सुनाउँदै हिड्थे । तर काकाका छोरा गोपालप्रसाद रिमालचाहिँ उनलाई हौसला दिन्थे, गाउनलाई राम्राराम्रा गीत लेखिदिन्थे ।

साङ्गीतिक यात्राको क्रममा उनको भेट अनेकौँ ठिटीहरुसँग पनि भयो । स्वर बनाइबनाइ गाउने, कम्मर मर्काइमर्काइ नाचेर सबैलाई लट्ठ पार्ने रिमाल लवाइखवाइमा पनि निकै ध्यान दिन्थे । चिटिक्क परेर त्यसबेला चलेको शैलीमा ठाँटिएर हिँड्ने रिमाललाई देखेर त्यो बेलाका ठिटीहरु भुतुक्कै हुन्थे । तर उनले रेडियो नेपालकै गायिका किशोरीदेवी अधिकारीसँग मायाप्रिती गाँसे र, २०११ सालमा वैवाहिक सम्बन्धमा गाँसिए । तर विहे गरेको केही समयपछि नै एक मोटर दुर्घटनामा परी उनकी पत्नीको मृत्यु भयो । यस घटनापश्चात् निकै विरक्तिएका रिमालले विस्तारै आफूलाई सम्हाल्दै गए, पुरानो कुरा बिर्सदै गए र कसैप्रति फेरि आकषिर्त हुन थाले ।

जीवन यात्रालाई अगाडि बदाउने क्रममा उनले २०१४ को वशन्तपञ्मीमा रेडियो नेपालकी चर्चित समाचारवाचिका कल्याणी पौडेलसँग पुनः विवाह गरे । र, चार सन्तान अरुण, अर्विन्दु, नीता र उषाका पितासमेत् बने ।

श्रीमान्श्रीमती नै जागिरे भएका कारण उनीहरुलाई र्सधैँ अफिस जाने चटारो हुन्थ्यो । यस्तो अवस्थामा रिमाल दम्पत्ति मिलेर घरको काम गर्थे । यो काम मैले गर्ने त्यो काम उसले गर्ने भन्ने छेकवार थिएन । त्यस्तै ऊनि भान्साकोठा पनि उत्तिकै रुचाउँथे । उनी मीठामीठा परिकार बनाएर परिवारका सदस्यहरुलाई खुवाउन पनि निकै सिपालु थिए ।

रिमालका गीतहरु त्यसबेला श्रोताहरुले निकै मन रुचाएका थिए तर विभिन्न कारणवश इच्छा हुँदाहुँदै पनि उनले सङ्गीतमा लामो समय दिन सकेनन् ।

बालकृष्ण समको प्रेरणा पाएर नाट्यविधामा लागेका रिमालले नाटकको सिलसिलामा रेडियो नेपाल र सांस्कृतिक संस्थानमा लामो समयसम्म सेवा गरे । शुरुशुरुमा नाटकमा अभिनय गर्ने गरे पनि नाटक निर्देशकको रुपमा देखा परे । निर्देशन गर्ने क्रममा उनी कलाकारहरुको हौसला बढाउनुका साथै उ भित्र रहेको खुबी निकाल्न र अभिनयलाई वास्तविक बनाउन निकै मिहिनेत गर्थे ।

रिमालले आफ्नो सक्रिय जीवनकालभरि जम्माजम्मी ५० ओटाजति नाटकमा अभिनय गरे । मुनामदन, के सक्कली के नक्कली, र्सपका पाइलाहरु, भोजन भट्ट, मसान, यता कि उताजस्ता पाँच सय वटा जति श्रव्य र दृश्य नाटकको निर्देशन गरे । अभिनय गर्ने क्रममा आमा, हिजो आज भोलि, परिवर्तन, मनको बाँध, के घर के डेरा, सिन्दूरजस्ता १ दर्जन चलचित्रहरुमा पनि अभिनय गरे । ८१ वर्षो बुढेशकालमा पनि अभिनय गर्ने, गीत गाउने र निर्देशन गर्ने उनको धित अझै मरेको छैन ।

यति धेरै नाटकमा अभिनय, निर्देशन र गीतहरु रर्ेकर्ड गरे पनि उनका सिर्जनाहरु अहिले सजिलै पाउन सकिँदैन । रेडियो नेपालमा रेकर्ड गीत र नाटकहरु पनि धेरैजसो हराइसकेका छन् । यस हिसाबले उनी सिर्जना गर्न माहिर देखिए पनि आफ्ना सिर्जनालाई सुरक्षित राख्न भने असफल देखिएका छन् ।

नेपाली सङ्गीत, नाटक र चलचित्रमा गरेको योगदानलाई कदर गर्दै उनलाई इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, छिन्नलता गीत पुरस्कार, वीरेन्द्र-ऐर्श्वर्य सेवा पदक, बालकृष्ण सम फाउण्डेसन सम्मान लगायत विभिन्न संघसंस्थाहरुबाट सम्मानित भइसकेका छन् ।

अहिले रिमाल नयाँ बानेश्वरस्थित आफ्नो घरमा अवकाश जीवन बिताइरहेका छन् । ढल्कदो उमेरसँगै देखा परेका केही रोगहरुबाट उनी ग्रसित छन् । उनलाई अहिले रगतमा अक्सिजनको कमि, फोक्सोमा समस्या र ब्रोङ्काइटिसजस्ता रोगले सताइरहेका छन् । यति हुँदाहुँदै पनि उनको पारिवारिक जीवन सुखपूर्वक चलिरहेको छ । सबै छोरा छोरी आ-आफ्ना पेशामा सक्रियरुपमा लागेका छन् । उनको सबै छोराछोरीको विवाह भइकेको छ । दुइ छोरा अमेरिकामा कार्यरत छन् । विहान बेलुका केही समय हिँडडुल गर्न, बगैँचामा बिताउदै र पुरानो कुराहरु सम्झदैँ उनका दिनहरु बितिरहेका छन् ।

Tags: