(२०६१ जेठ महिनामा “आहा संगीत” पहिलो अङ्कमा प्रकाशित सामग्री)
‘न्याय नपाए गोर्खा जानू, विद्या हराए काशी जानू, यसरी विद्याका लागि बनारस प्रख्यात भइरहेको कुरा त सबैलाई थाहा छ, तर गीत संगीतका लागि पनि बनारस उत्तिकै उर्वर स्थान हो भन्ने चाहीं कमैलाई थाहा होला ।
२००९ सालको शुरुमा एउटा ९ वर्षो फुच्चे आफ्ना मामाका साथ संस्कृत पढ्ने उद्देश्यले बनारसका ती भीमकाय गल्लीका बीचमा उभियो । त्यहाँ वेद ध्वनि र व्याकरणका चौंध सूत्रको गुञ्जन त थियो नै त्यसको सरसतासँगै तवलाको धाकिति धाकिति पनि शनैशनैः बगिरहेको थियो । यसरी संस्कृत पढ्न भनेर गएको त्यो फुच्चे पछि लगातार तबला साधनामा लागेर धुरन्धर भएर निस्क्यो, जसलाई आज नेपालका तबल्चीहरुले आदरणीय रुपमा होमनाथ उपाध्याय गुरु भनेर चिन्छन् ।
पुख्र्यौली घर भोजपुृर भए पनि काठमाडौंमा २००० सालमा जन्मिएका उपाध्याय आफ्नो तबलाको यात्रालाई संयोग मान्छन् । बनारसको हरेक गल्लीमा तबलाको स्वर गुञ्जन्थ्यो । खेल्ने उमेर थियो, अन्य कुरा खेलेझैं तबलासँग खेलें, पछि यही जीवनको अभिन्न अंग बन्यो, आफू हिंडिआएको बाटो पछाडि हर्ेर्दै बताउँछन् ।
म बसेको ठाउँ छेवैमा एउटा बंगाली साथी थियो, शुरुमा उसैले बजाउन सिकायो । पछि पनि उसैले गुरु रामजी मिश्रकोमा पुर्यायो । १५ वर्षम्म त्यहाँ बसें । २०२४ सालमा नेपाल र्फकंदा हातमा तबलामा एमको र्सर्टिफिकेट थियो’, उपाध्याय पुराना दिन सम्झँदै भन्छन् । पहिलो पटक तबला बजाएर पाँच रुपियाँ कमाउँदा उहाँका खुट्टा भूइँमा थिएनन् । तर पछि बीएको अन्तिम सालका अन्तिम परीक्षामा फि तिर्ने पैसा नहुँदा परीक्षा दिन पाएनन् । त्यसैबेला पैसाको महत्व बुझेका उपाध्याय तिनताका पैसाका लागि रामायण महाभारत कथा वाचकी टोलीसँग गाउँगाउँ घुमिहिंड्थे ।
राजा सुरेन्द्रविक्रम शाहको पालामा नेपालमा तबला भित्रिएको अनुमान गर्ने उपाध्याय आजसम्म नेपालमा प्रतिष्ठित तबलावादकमध्ये एक मानिन्छन् । आज नेपालमा जे जति नाम चलेका वा नचलेका तबलावादक छन्, अधिकांशतः उनकै चेला छन् । २०२४ सालदेखि नियमित नेपालमा बस्दै आएका उपाध्याय बेलाबखत आफ्नो प्रस्तार नामक सांगीतिक टोलीलाई लिएर विदेश पनि जान्छन् । विदेशमा उनीहरुले गर्ने गरेको सम्मान देखेर बारम्बार नेपाल सम्झने उपाध्याय कारण खुलाउँदै भन्छन् यहाँ कलाको सम्मान एकरत्ति पनि गर्दैनन् ।
२०२४ र २०२६ सालमा दर्ुइ पटक रेडियो नेपालको शास्त्रीय संगीत तबला वादन प्रतियोगितामा प्रथम भएका उपाध्याय यस क्षेत्रका उत्थानका लागि आफूले सक्दो काम गरिरहेको बताउँछन् । यसैका लागि ललितकला क्याम्पसमा १६ वर्षप्राध्यापन गरिसकेका उपाध्यायले हिजोआज वर्षो दर्ुइ पटक युनिवर्सिटी अफ क्यालिफोर्नियामा तबला पढाउन थालेका छन् । यस अतिरिक्त पशुपति संगीत कला प्रतिष्ठानमा पनि हप्ताका तीन दिन तबला पढाउँछन् ।
पछिल्लो साल तबला सम्बन्धी ताल पुष्पाञ्जली नामक पुस्तक प्रकाशन गरेका उपाध्याय अब यही विषयको किताब अंग्रेजीमा निकाल्ने योजनामा छन् । तर बिडम्वना उनले अघिल्लो पुस्तक एक हजार प्रति प्रकाशन गरेकोमा आठ सय त घरमै थन्किएर रहेका छन् ।
विज्ञानका नयाँ नयाँ प्रयोगले तबलाको ताललाई संकटमा पार्दै लगे पनि उनी रत्तिभर चिन्तित छैनन् । पारखी श्रोताले यसलाई जहिले पनि जीवित राख्न उक्साउने छन्, आखिर राम्री युवतीलाई गहनाले अझै सुन्दर नै पार्छ- उनी निश्चिन्त हुँदै बताउँछन् ।
