न्युयोर्कवासी नेपालीद्वारा स्वर्गीय प्रशान्त तामाङको सम्झनामा शोकसभा सम्पन्न

न्युयोर्क — नेपालीहरूको बाक्लो बसोबास रहेको न्युयोर्कको क्विन्स राज्य अन्तर्गत ज्याक्सन हाइटमा स्वर्गीय गायक तथा अभिनेता प्रशान्त तामाङको सम्झनामा शोकसभा आयोजना गरिएको थियो। गत जनवरी १७ तारिख शनिवार साँझ ७ बजे सम्पन्न उक्त शोकसभामा न्युयोर्कवासी नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

लामा गुरु आङबाबु शेर्पाबाट स्वर्गीय तामाङको आत्माको शान्तिका लागि पूजा–पाठ गरेर कार्यक्रमको सुरुवात गरिएको थियो। शोकसभाको व्यवस्थापन साउन्ड स्टुडियोका सञ्चालक मिङ्मा मगर र शुबर्ण शाक्यले गरेका थिए।

शोकसभामा हिमालय कल्चरल एकेडेमीका कलाकारहरू शिशिर श्रेष्ठ, न्हुछे डंगोल, संगीता मुखिया, शुभास दाहाल, शुबर्ण शाक्य, मिङ्मा मगर, अमृत गुरुङ र प्रकाश कुमारले स्वर्गीय प्रशान्त तामाङद्वारा गाइएका विभिन्न चर्चित गीतहरू स्मरणस्वरूप प्रस्तुत गरेका थिए।

कार्यक्रमको सञ्चालन गायक अभय ढुंगेलले गरेका थिए भने स्वर्गीय तामाङको शोकसभामा प्रत्यक्ष प्रसारणमार्फत उनको परिवारलाई समेत जोडिएको थियो। वरिष्ठ नृत्यनिर्देशक गोविन्द राईले स्वर्गीय तामाङसँग बिताएका स्मृतिहरू स्मरण गर्दा उपस्थित महानुभावहरू भावविभोर भएका थिए।

समाजसेवी तथा जेपी प्रतिष्ठानका अध्यक्ष सोमनाथ घिमिरेले स्वर्गीय तामाङको नेपाली गीतसंगीतमा पुर्‍याएको योगदानको कदर गर्दै शोक मन्तव्य व्यक्त गरेका थिए। साथै वरिष्ठ गायिका सपना श्री, समाजसेवी कृष्णा तुलाधरलगायत उपस्थित महानुभावहरूले स्वर्गीय तामाङको तस्बिरमा फूलमाला र खादा अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

स्वर्गीय प्रशान्त तामाङ नेपाली संगीत तथा चलचित्र क्षेत्रमा बहुप्रतिभाशाली कलाकारका रूपमा परिचित थिए। उनी इण्डियन आइडल सिजन–३ का विजेता समेत हुन्। इण्डियन आइडल जितेसँगै उनले अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाकारको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

नेपाली संगीत क्षेत्रमा उनका “असारैमा”, “लाहुरे दाइ”, “परदेशीको पीडा” लगायतका गीतहरू अत्यन्त चर्चित रहेका छन्। उनका गीतहरूमा नेपाली समाज, जीवनसंघर्ष, माया–प्रेम र पीडाका भावनाहरू सशक्त रूपमा अभिव्यक्त हुने गर्थ्यो।

गायनसँगै अभिनय क्षेत्रमा पनि सक्रिय रहेका स्वर्गीय तामाङले अभिनय गरेका नेपाली चलचित्रहरू समेत दर्शकमाझ लोकप्रिय रहेका छन्। छोटो जीवनकालमै उनले गायन र अभिनय दुवै क्षेत्रमा पुर्‍याएको योगदान नेपाली कला, संगीत र संस्कृतिको इतिहासमा सधैं स्मरणीय रहनेछ।

तस्बिर – जस कुमार राई

Tags: