नेपाली संगीतका स्वप्नकाल माणिकरत्न

प्रकाश सायमी

(२०६१ मा “आहा संगीत”मा प्रकाशित सामग्री)

उनको आवाज हाम्रो समयको सांस्कृतिक चलखेल हो । त्यो हाम्रो दैनिक जीवनको ग्रहण पनि हो । हामीले एक दिन पनि उनको आवाज नसुनिकन दिन बाँचेका हुँदैनौं यदि बहिरो भएनौं भनें ।
एक संस्कृतिधर्मीले भारतका महान् गायिका लता मंगेशकरका बारेमा भनेको यो भनाई नेपालको सांगीतिक जीवनमा हुबहु मेल खान्छ गायक संगीतकार माणिकरत्नका बारेमा । नेपाली संगीत समाजमा माणिकरत्नको स्वरीयतालाई परम्पराभन्दा भिन्न र ग्रहस्वरको रुपमा लिइन्छ । लता मंगेशकारका बारेमा भनिएकाजस्ता कुरा उनका बारेमा नभनिएका होलान् तर त्यसको ऐतिहासिक महत्व छ भन्ने म ठान्दछु ।

मणिकरत्न इतिहासले बनाएका गायक होइनन् बल्की उनी स्वयम् एक इतिहास बनेर अगि बढेका छन् आफ्नो संघर्षकालमा । उनी सूत्रधार हुन् तर त्यसभन्दा अहम् रुपमा उनी पर्दा तानेर दृश्य दिने दृश्यदाता हुन् । उनले आफ्ना लागि भन्दा अरुका लागि बाटो बनाइदिए । हिंड्न पुग्न र घचेड्न उनले सधैं अरुलाई सघाइरहे । उनी पाश्र्व गायक हुन् जसको ग्रहस्वरको अनुध्वनि आजसम्म पनि वा भनौं उनी नेपथ्यमा बसिसकेपछि पनि अग्रभूमिमा गुञ्जिरहेछ एक बिम्ब बोकेर । उनी संस्थापन पक्ष हुन् युगल गायनका ।

उनी प्रयोगधर्मी हुन् तर परम्परा बनेर गए, अनुवादका रुपमा ।
उनी प्रेरणाश्रोत हुन् तर आफैं निराशाका जंगल भएर गए अपवादका रुपमा ।
उनी मौलिक ऊर्जा हुन् तर अनुकरण भएर गए प्रतिवादका रुपमा ।

उनले गाउन छोडे पनि उनको आवाजको पहिचान अझैं बाँकी छ नेपाली सुगम संगीतको पहाड कन्दरामा, लोकबेंशीमा, उकाली ओरोलीमा, अँध्यारा उज्यालामा । आज माणिकरत्न इतिहासबाट आख्यान बनिसकेका छन् । कल्पनातित रुपमा उनको चर्चा वा प्रशंसा राजा वा ईश्वरको रुपमा नगरिएला तर उनी नेपाली नेवारी संगीतका प्रमिथियस हुन् जसले नारायण गोपालको स्वरमा आगो बालिदिए । उनैले नारायणगोपाललाई रेडियो नेपालको माइक्रोफोनसम्म पु¥याए र नाचघरको कर्मचारीसम्म बनाए । उनैले रत्नशमशेर थापा र किरण खरेलका पाँच शब्दलाई स्वरसंगीत दिए, पुनर्जीवन दिए ।

युगल संगीतमा प्रेम माणिकको युग शुरु गरे गोरेटो त्यो गाउँको खोजी खोजी थाकें… लाई रेकर्ड गरेर ।

उनले गीतलाई गणितको रुपमा होइन जीवनजनितकै रुपमा गाए । उनले गाउन शुरु गरेको दश वर्षपछि उनकैजस्तो संस्वरता बोकेर अनुज गायक आए दीप श्रेष्ठ । दीप श्रेष्ठले उनको स्वरको पुनर्जीवन राख्ताराख्तै उनले गाउन थालेको बीस वर्षपछि अर्का गायक आए प्रकाश श्रेष्ठ । दीप र प्रकाश श्रेष्ठले माण्किरत्नको विराशत मात्र थामेनन् र समवेत स्वरमा भनिरहे हामीले माणिकरत्नको गीत सुनेर गाउन शुरु गरेका हौं ।

नेपाली संगीतको निर्माणमा यो एउटा अद्भूत घटना नै मान्नु पर्छ एउटा मूल स्वरलाई ग्रह स्वरुपमा ग्रहण गरेर एक एक जुगमा अनुस्वरहरु गुञ्जिरहे संस्वरता लिएर । कहिले दीप श्रेष्ठ, कहिले प्रकाश श्रेष्ठ, कहिले जुजुकाजी रञ्जित, कहिले यम बराल… अब आउने नवपुस्तामा उनको छाप अझै बाँकी छ । यो अर्कै प्रसंग हो समयान्तरमा नारायणगोपालका पनि अनुस्वरहरु देखा परे ।

प्रेमध्वज, नारायणगोपाल, कन्हैयाकुमार, योगेश वैद्य, रमेश ताम्राकार, दीपतारा ताम्राकारलाई आफ्नो प्रेरणा र प्रेम दिएर हुर्काउन सक्ने संगीतका एक युगपुरुष माणिकरत्न कालान्तरमा आफैं प्रेरणाहीन भएर वर्जनामा बिलाए । बर्जना एक यातकरवेद शब्द अवश्य हो तर माणिकरत्नको जीवनमा यसको आफ्नै अर्थ र महत्व छ यसको पुनव्र्याख्या हुन सक्तैन ।

खोलानालासँग सोधिहेरें, गाउँ तिम्रो खोजीखोजी
आएको छु मायालु म, तिमीलाई सोधी रोजी
चौतारीमा लिन आउनु है

यो गीतले नेपाली समाजमा बनाएको श्रोतव्य संसार अझै भत्किन सकेको छैन वा भनौं, यसकै सिंहावशेषमा नयाँ र नवीनतम रचनाहरु पुनर्जीवित भइरहेका छन् तर माणिकरत्नको युगको पुनरागमन हुन नसकेको यथातथ्य सत्य हो ।

विक्रमाव्द श्रावणमा काठमाडौंको पुरानो शहर मखन टोलमा जन्मेका माणिकरत्नको गायन जीवन नेपाली संगीतको स्वप्नकाल मानिन्छ । सागर हो स्वास्नी मान्छ, मेरो विटुलो विश्वास, जूनका किरणहरुले, यो खोलाको सग्लो पानी, नआऊ जून कोठामा मसँग जस्ता अजम्बरी गीत गाएर नेपाली संगीत कोश भर्ने एक साधक आफ्नै जीवनकालमा स्तम्भहीन, शीर्षकहीन भएर गएको यो पीडान्त इतिहास पुनः नदोहोरिएला ।

माणिकको युग नेपाली संगीतको स्वर्णिम युग हो ।

गोधुली संसार, सैंबु, ललितपुर

Tags: