अस्ताएको एक्लो जीवन

चलचित्रका पर्दामा, डरलग्दा खलनायकको भूमिकामा देखिने कलासाधक गोपाल भुटानीको वास्तविक जीवनकथाले जो कोहीलाई भावुक बनाउँछ । चलचित्र क्षेत्रकै लागि जीवनको ६० वसन्त अर्पेका यी कलाकार यतिबेला पेटको अल्सरबाट पीडित बनेका मात्रै छैनन्, जीवनको ७५ औं वर्षको बुढ्यौलीमा एक्लो जीवन बिताउन बाध्य छन् ।

स्वादेशी चलचित्रका लागि प्रथम नेपाली द्वन्द्व निर्देशक हुन्, यी व्यक्ति । कलानिर्देशनमा समेत लामो उमेर खर्चेका भुटानी बुढौली र रोगले थलिएका छन् । त्यो पनि थापाथलीमा एउटा भाडाको सानो कोठामा एक्लै । आजकाल उनलाई आफ्नै ओछ्यान पनि बिरानो लाग्न थालेको छ । किनकी आफू सुत्ने खाटमा चढ्न समेत उनलाई निकै मुस्किल पर्छ । उनलाई सहारा दिने कोही छैनन् । खाना पकाउनेदेखि भाँडा माझ्ने, कपडा धुने सबै काम यी रोगी वृद्ध आफैं गर्छन् ।

‘अल्सरको अप्रेसन गरेका बेला एउटा काम गर्ने केटो राखेको थिएँ ।’ भुटानी भन्छन्- ‘तर के गर्ने, सबै काम आफूले भने जस्तो नहुने, त्यसैले उसलाई पनि हटाएर सबै काम आफैं गरिरहेको छु ।’

७५ वर्षको जीवनमा जम्माजम्मी १५ वर्ष मात्र उनले आफन्तका साथ बिताए । ‘बाँकी समय एक्लै बिताइरहेको छु र यसैमा रमाउँछु पनि,’ उनले भने ।

इलामको फिक्कलमा तामाङ परिवारमा जन्मिएका भुटानी चार वर्षकै उमेरमा आफ्ना सैनिक काकाको साथ ढाका गएका थिए । ढाकामै उनले केही वर्ष पढे पनि । त्यहाँ काकासँगै पल्टनमा समय-समयमा सिनेमा हेर्न उनले पाउँथे । त्यही सिनेमाको प्रभावले १३ वर्षको उमेरमा नै उनी भागेर बम्बइ आएका रहेछन् । बम्बइमा केही समय सर्कसमा घोडाको तबेला सफा गर्ने काम पनि उनले गरे । चलचित्रमा अभिनय गर्ने नसा लागेपछि त्यहाँका चलचित्रकर्मीको जमघट हुने एमएनटी स्टुडियोमा उनले महिनौं बिताए । त्यहीं सिनेमाका फाइटरसँगको चिनजानले उनी बलिउडमा फाइटरको रुपमा प्रवेश गरेका थिए । इमान्दारी, लगन र कडा मेहनतका कारण उनले हकिकत, ललकार, ए रास्ते हे चीन के, उडिक्का पन्जावी जस्ता तत्कालिन लोकप्रिय चलचित्रमा खलनायकको भूमिका निभाएका थिए । उनले दारा सिह, राजेश खन्ना, राजकपुर, शशि कपुर, धर्मेन्द्र, अशोक कुमार लगायतका कलाकारसँग त्यो समयमा काम गरेका थिए ।

स्टन्ट्म्यानदेखि कलाकार हुँदै निर्माण नियन्त्रक बनेर झण्डै ३० वर्ष उनले बलिउडमा बिताए । ‘बलिउडमै काम गरिरहेको भए आज म धेरै लोकप्रिय र सम्पन्न हुने थिएँ, तर त्यहाँ सिकेको कुरा आफ्नै मातृभूमिमा सदुपयोग गरुँ भनेर नेपाल फर्किएको हुँ,’ उनले भने । त्यसपछि मनको बाँधबाट अभिनय, जीवनरेखाबाट द्वन्द्व निर्देशन र झुमाबाट कला निर्देशन शुरु गरेको पनि उनले बताए । भुटानीको यात्रा अहिलेसम्म अनवरत रूपमा अगाडि बढिरहेको छ । बलिउड चलचित्र क्षेत्रमा काम गर्दागर्दै त्यहीँ बिबाह पनि उनले गरे । बम्बइकै सान्ताक्रूजमा घरसमेत बनाएका थिए । श्रीमती र एक छोराका साथ उनको पारिवारिक जीवन पनि राम्ररी नै चलिरहेको थियो । तर श्रीमतीसँगको असमझदारीका कारण वैवाहिक जीवनमा बाँधिएको ३ वर्षमै घरबार श्रीमती, छोरा सबै त्यागेको उनी बताउँछन् ।

‘जुन कुरा मलाई मन पर्दैन, ती सबै त्यागिदिन्छु । बम्बई छोडेर हिँडेपछि फेरि फर्केर गइनँ ।’ अहिले उनकी श्रीमती कहाँ छन्, अरु आफन्त कहाँ छन् उनलाइ केही थाह छैन । ‘बम्बइमै फिल्म क्षेत्रमा संघर्ष गर्ने क्रममा आमा बित्नुभएछ, त्यो पनि थाहा पाइनँ, पछि नेपाल आएर खोजी गर्दै इलाम जाँदा परिवारै त्यो ठाउँ छोडेर हिँडिसकेका रहेछन्,’ उनले आफू यसरी एक्लो भएको कारण कलाकार भुटानीले सुनाए । अहिले अरु आफन्त दिदीहरु कहाँ छन्, उनलाई केही थाहा छैन । उनी थप्छन्- ‘सिनेमा क्षेत्रमै लागेका कारण म मेरा सबै आफन्तबाट एक्लो भएँ । तर आज मेरा आमा बुबा, दिदी, भाइ, आफन्त सबै चलचित्र क्षेत्र भएको छ ।’

६० वर्ष चलचित्र यात्रामा नेपाली र भारतीय गरी झण्डै चार सय चलचित्रमा काम गरिसकेका छन् उनले । तर खान, बस्न र कोठाको बहाल तिर्नबाहेक उनीसँग केही सम्पत्ति छैन । तैपनि निश्चिन्त छन्, भोलिको चिन्ता छैन उनलाई भन्छन्, ‘मेरो अल्सरको अप्रेशन गर्दा मसँग दुइ हजार भन्दा थिएन, तर चलचित्रकर्मीको साथ सहयोगले म बाँचे ।’ यत्तिका वर्ष चलचित्र उद्योगमा काम गरे पनि कतिपय निर्माता निर्देशकबाट ठगिएको दुखेसो छ उनको । ‘१५ हजारमा एग्रिमेन्ट गरिन्छ तर दिनेबेलामा ५ हजार दिइन्छ, मेरो काम गरेको सबै पैसा उठाउने हो भने छ लाखौ रुपैयाँ उठ्न बाँकि छ,’ भुटानीले भने ।

उनलाई बूढो भएजस्तो लाग्दैन रे ! ‘कमजोर पक्कै भएको छु, तर बूढो चैं भएको छैन,’ ७५ वर्षीय वृद्ध कलाकार भुटानी भन्छन् । शारीरिक अशक्तताकै कारण द्वन्द्व निर्देशन, कला निर्देशनको काम छोडेर अभिनय मात्रै गर्दै आएका छन् । त्यसैले चलचित्रका निर्माता निर्देशकहरूलाई सानोतिनो रोलमा भए पनि अवसर दिन आग्रह गर्छन् उनी । त्यही पैसाले छाती फुलाएर इज्जतका साथ दालभात खान पाउँ, अरुको भर पर्नु नपरोस् भन्ने उनको भनाई छ ।

कलाकार भुटानीलाई जीवनमा खड्केको कुरा एउटै छ, त्यो हो, नागरिकता । ‘म नेपालीकै छोरा हुँ, त्यसमाथि यत्रो वर्ष नेपाली चलचित्र क्षेत्रमा लागें तर मलाइ नागरिकता दिइएन,’ भुटानी भन्छन्- ‘अब नागरिकता लिएर मलाई बंगला किन्नु छैन, जग्गा किन्नु छैन, म प्योर नेपाली तामाङकै छोरा हो, तर नागरिकता पाए, मर्ने बेलामा छातिमा राखेर नेपाली हुँ भनेर मर्ने चाहना छ ।’

  • ऋषिराम कट्टेलले नेटनशाका लागी तयार गरेको सामग्री साभार गरिएको हो

Tags: