भारतीय चलचित्र र गीतमा संगित दिँदै नेपाली ठिटो

Written by Artist Sansar

हेटौंडा मकवानपुरका एक अल्लारे ठिटा बाल्यकालदेखि नै मनमा बलिउडको सपना सजाएर बसेका थिए।

आर्टिस्टनेपाल
हेटौंडा मकवानपुरका एक अल्लारे ठिटा बाल्यकालदेखि नै मनमा बलिउडको सपना सजाएर बसेका थिए। आज उनी सफल युवा संगीतकारका रूपमा चिनिन्छन्, भारतको फिल्मीनगरी मुम्बईमा। उनको नाम हो, सन्तोष शर्मा। गैरभारतीय भए पनि मुम्बईका ठूलाठूला गायकलाई १९ वर्षको उमेरमै आफूले तयार पारेको संगीतमा गाउन लगाउन सफल भएका छन् उनी।

उनले तयार पारेको संगीतमा सोनु निगम, बाबुल सुप्रियो, संजीवनी, उदितनारायण झालगायतले गाइसकेका छन्। उनमा संगीतको भूत त्यति बेला जागेको थियो, जब उनी सानै उमेरदेखि घरनजिकै आयोजना हुने भजनकीर्तन कार्यक्रममा सहभागी हुन्थे। एसएलसी दिइसकेपछि उनले काठमाडौंमा बसेर केही समय संगीतको ज्ञान सिके। त्यसपछि उनी थप अध्ययनका लागि २०५३ सालमा मुम्बई हानिए। उनले मुम्बईमा भारतीय म्युजिकका हस्ती सुरेश वाडकरसँग दुई वर्ष अध्ययन गरे। पछि सुरेशकै सहयोगले उनले भारतीय फिल्म उद्योगका थुप्रै गायकसँग काम गर्ने मौका पाएको अन्नपूर्ण पोस्टमा पत्रकार मित्र राजेन्द्र कुँवरले उल्लेख गरेकाछन् ।

बाबुल सुप्रियोसँग भएको पहिलो भेट उनी अहिले पनि सम्झने गर्छन्। म्युजिक रेकर्डका लागि सुप्रियो स्टुडियोमा आउँदा सोधेका रहेछन्, ‘म्युजिक डाइरेक्टर कहाँ छन्?’ त्यति बेला उनले कुर्सीबाट उठेर आफू म्युजिक डाइरेक्टर भएको बताएपछि सुप्रियो छक्क परेका थिए। ‘यति फुच्चे म्युजिक डाइरेक्टर !’, सुरुमा उनले मलाई पत्याएनन्। तर, पछि म्युजिक रेकर्ड भएपछि सुप्रियो दंग परे र सन्तोषको भविष्य राम्रो रहेको भन्दै पारिश्रमिकबापतको पैसा लिन मानेनन्।

मुम्बई बसाइका क्रममा बलिउडका चर्चित क्यामेराम्यान विनोद प्रधानले सन्तोषलाई निकै सहयोग गरेका थिए। नेपाली फिल्म ‘परिचय’ लगायत भोजपुरी फिल्ममा व्यस्त उनले हालसम्म ‘जुबान’, ‘तुम मेरे दिलमे’, ‘किरदार’, थोडी मस्ती थोडा प्यार’, ‘सियासत द पोलिटिक्स’ र ‘मुसा द मोस्ट वान्टेड’ गरी लगभग १० वटा फिल्ममा संगीत दिइसकेका छन्। उनले पछिल्लो समय कम्पोज गरेको फिल्म हो, ‘कोयला माफिया’। जुन रिलिज हुने तयारीमा छ। कैलाश खेर, सुनिधि चौहानलगायतलाई पनि उनले आफ्नो संगीतमा गाउन लगाइसकेका छन्। दुई वर्षअघि उनले रामकृष्ण ढकालको स्वरमा रहेको चर्चित गीत ‘पहाडको छुकछुके रेल’ मुम्बईमै कम्पोज गरेका थिए। रामकृष्णको एउटै गीतमा ३२ हजार पारिश्रमिक लिएका सन्तोष हिन्दी गीतमा भने एकदेखि पाँच लाखसम्म भारतीय रुपैयाँ लिने गर्छन्। त्यसैले उनी अहिले मुम्बईमा शानसँग हिँड्छन्।

सन् २००७ मा रिलिज ‘सियासत द पोलिटिक्स’ का पाँचवटा गीतका लागि उनले १० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएका थिए। पछिल्लो समय निकै चर्चामा रहेका लता मंगेस्कर र रामकृष्ण ढकालको स्वरमा सजिएको ‘बाँचुन्जेली’ को पूरै गीतका लागि भने उनले पाँच लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्। यसअघि नेपाली गीतमा भारतीय संगीतकार जयदेवले लतालाई गाउन लगाएका थिए। पछिल्लो समय लतालाई आफ्नै संगीतमा गाउन लगाउने नेपाली संगीतकार आफै भएको उनी दाबी गर्छन्। ‘म यहाँ सन्तुष्ट छु’, उनी भन्छन्।

About the author

Artist Sansar