न्युयोर्कमा सिन्धु साँझ सम्पन्न

Written by ArtistNepal News

सिन्धु-युएसए वेलफेयर सोसाइटीको आयोजनामा न्युयोर्कको कुईन्स स्थित कुईन्स प्यालेसमा “जीवनका लागि शिक्षा” नारा सहित “सिन्धु साँझ” नामक एक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जुलाई ३० मा आयोजना गरिएको यस कार्यक्रममा न्युयोर्क बासीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । उक्त कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि रहनु भएको थियो ।

अमेरिकामा रहेका सिन्धुपाल्चोक जिल्लाबासिहरुको सामुहिक सहकार्यक्रम गठित उक्त सोसाइटिले गायक राजु लामा (मंगोलियन हार्ट) र व्यावसायी दावा ह्योल्मोलाई बिशेष सम्मान गरेको थियो । नेपाली गीत-संगीत क्षेत्रमा लामाले पुर्याएको योगदान र अमेरिकामा युवावस्थामै व्यावसाय क्षेत्रमा आर्जेको उपलब्धिको कदर स्वरूप ह्योल्मोलाई उक्त विशेष सम्मान प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा न्युयोर्कमा रहनुभएका विभिन्न कलाकारहरुले आ आफ्नो कला प्रस्तुत गरेका थिए । कार्यक्रममा बरिष्ठ अभिनेत्री गौरी मल्ल, गायक अभय ढुङ्गेल, राजु लामा, जगदीश समाल, रोशान गुरुङ, संजोक योन्जन , तिलक श्रेष्ठ, राजेन्द्र राई, सुमन बुढामगर, निमा लामा, गीता बिर्लाकोटी, बिपन राई लगायातका कलाकारले गित प्रस्तुत गर्नुभएको थियो भने धरमबिर लामा,जेनी योन्जन,छोतेन शेर्पा, गणेश ग्लान , सजिता लामा ,सुजन गुरुङ सम्झना कार्की, लुना योंगहांग, सबिता देवान,रबिना ,लमु शेर्पा लगायतका कलाकारहरुले बिभिन्न गीतमा आकर्षक नृत्य प्रस्तुत गरेर दर्शकको राम्रै मन जित्न सफल भएका थिए।

कार्यक्रममा प्रस्तुत नृत्यहरु बसन्त डान्स सेन्टरका संचालक नृत्य निर्देशक विजय नकर्मी र झंकार डान्स सेन्टरका संचालक नृत्य निर्देशक धरमबिर लामाको कोरियोग्राफीमा तयार गरिएको थियो।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।