चलचित्रमा लंगिक भेद

https://artistnepal.com/

https://artistnepal.com/

"

नेपाली चलचित्रले विस्तारै व्यावसायिक सफलता हासिल गरिरहेको छ । एउटा उद्योगका रूपमा विकास भैरहेको स्थितिमा नेपाली नायिकाहरूले लैङ्गकि भेदभावको चर्को समस्या बेहोर्नु परिरहेको छ ।

निश्चित मापदण्डको अभावमा स्वयं विकासको बाटो पहिल्याइरहेको नेपाली सिनेजगत् जुन प्रकारको स्थितिमा फसेको छ, त्यो समानताको राग र अरण्यरोदन पनि हो । नायकको तुलनामा निकै कम पारिश्रमिकमा पनि चित्त बुझाउन बाध्य छन्, नायिकाहरू ।

केवल जैविक भिन्नतालाई आधार बनाई नायिकाहरूको क्षमतालाई कम मूल्यांकन गर्नुको परिणाम चलचित्रको सफलता र असफलतासँग जोडिने कुरा बुझ्न निर्माताहरूलाई समय लाग्ने समीक्षकहरू बताउँछन् ।

चलचित्रको कथामा नायिकाको भूमिका र योगदानको समेत कदर नभएको नायिका झरना थापा बताउँछिन् । नायिकाको कम मूल्यांकन हुनु नै दुःखद पक्ष भएको नायिका थापाको भनाइबाट स्पष्ट हुन्छ ।

नेपाली चलचित्रका नायिकाहरूमा अभिनय क्षमता नभएको भने पक्कै होइन । चलचित्र लेखक विकास आचार्य भन्छन्-अहिले त झन् शिक्षा र अभिनयको आवश्यक प्रशिक्षणपछि आएका नायिकाहरू अभिनयका दृष्टिले कतै पनि कम छैनन् । धेरैजसो चलचित्रमा नेतृत्वदायी भूमिका नायककै रहनु चलचित्रका व्यावसायिकताको हिसाबले पनि अनुकूल मान्न सक्ने अवस्था छैन । नायिकाहरूलाई लैङ्गकि भेदभावको सिकार बनाउने हाम्रो सामाजिक परिवेश एवं पुरुषप्रधान समाजमा उनीहरूको दृष्टिकोण जति दोषी छ, त्यति नै दोषी स्वयं नायिकाहरू पनि भएको नायिका अरुणिमा लम्साल बताउँछिन् ।

यति नै पैसा दिनुपर्छ भनेर कसैले माग गर्दैनन्, हामीलाई पनि त्यसो गर्न अप्ठ्यारो हुन्छ, त्यसैले सम्झौताअनुसार चल्नुपर्ने बाध्यता भएको लम्सालको कथन छ । नायिकाबाट एक्स्पोजको तीव्र चाहना गर्नुले पनि समस्या खडा गरेको निर्देशक सुचित्रा श्रेष्ठ बताउँछिन् ।

आफूले निर्माण गरेको चलचित्रमा नायिकालाई नायक बराबर पारिश्रमिक दिएको निर्माता जेनी कुँवर बताउँछिन् तर नायिका रेखा थापा भने त्यसको खण्डन गर्दै भन्छिन्-जेनीजीले नायक बराबर पारिश्रमिक दिनुभयो कि दिनुभएन त्यो त थाहा भएन तर मैले अभिनय गरेको नारीप्रधान चलचित्र दुर्गामा समेत कम पारिश्रमिकमा चित्त बुझाउनुपरेको थियो ।

नायिका झरना थापा भन्छिन्- नायिकाले यति नै पैसा दिनुपर्छ भनेर माग नगर्दा पारिश्रमिक कम भएको हो । त्यसो त नायिका थापा निर्मातालाई मात्र दोष दिन्नन्, उनी यसलाई नायिका-नायिकाबीचकै अस्वस्थ प्रतिस्पर्धाको उपज पनि मान्छिन् । एउटी नायिकाले पारिश्रमिकको माग गर्नेबित्तिकै अर्की नायिका त्यसभन्दा कममा काम गर्न तयार हुने भएकाले कतिपय नायिका चलचित्रबाट वञ्चित र कसैले कम पारिश्रमिकमै काम गरेका दृष्टान्त पनि छन् ।

चलचित्र लेखक विकास आचार्य भने नायिकाको हाँस्ने, नाच्ने भूमिका बढी र नायकको जति भूमिका नहुनुले पनि पारिश्रमिकमा अन्तर भएको बताउँछन् । नारीप्रधान चलचित्र धेरै नबन्नु त छँदैछ, बनेकाहरूबाट पनि राम्रो पारिश्रमिक नपाइएको नायिकाहरूको धारणाबाट सजिलै बुभन सकिन्छ ।

निर्माता छवि ओझा भने यसमा आफूहरूको कुनै दोष नभएको बताउँछन् । कुनै नायिका कम पैसामै काम गर्न तयार भएपछि बढी पैसा किन खर्च गर्नु ? चलचित्र बनाउनु हाम्रो व्यापार हो ।

हामीलाई नायिका चाहिन्छन् जसले कम पैसामा काम गर्छन् उनैलाई लिईन्छ । छविको भनाइलाई हेर्दा पनि थाहा हुन्छ हाम्रो चलचित्र क्षेत्रमा नायिकाहरू सो-पिस बनिसकेका छन् । यसप्रकार एक पक्षमा मात्र नभै समस्या चौतर्फी रहेको यथार्थलाई दृष्टिगत गर्दा चलचित्र क्षेत्रमा परिवर्तनको खाँचो छ ।

नारीप्रधान चलचित्र निर्माण गर्नु अपरिहार्य भैसकेको छ । नायिकालाई चलचित्रको सो-पिसका रूपमा मात्र लिने परिपाटीको अन्त्य गरे, नायिकाहरू आफै सचेत भए आपसी अस्वस्थ प्रतिस्पर्धा हटाउन लागिपरे चलचित्र क्षेत्रले कोल्टे फेर्ने निश्चित छ र चलचित्र क्षेत्रमा हुने लैङ्गकि विभेद पनि अन्त्य हुनेछ ।