अलबिदा मनोहरि

https://artistnepal.com/

https://artistnepal.com/

"

नेपाली मूलका भारतीय संगीतकार मनोहरि सिंहको नेपालमा एकपटक भए पनि कन्सर्ट गर्ने चाहना अन्ततः पूरा हुन पाएन । उनले सेक्सोफोन, बाँसुरी, क्लारिनेट र मान्डोलिन बजाएको सुन्ने नेपाली संगीत पारखीको तिर्खा अब कहिल्यै मेटिनेछैन । ‘टाइम’ म्यागजिनले सन् असीको दशकमा ‘एसियाका उत्कृष्ट सेक्सोफोनिस्ट’ भनेका मनोहरिको मंगलबार ८३ वर्षको उमेरमा मुम्बईमा मृत्यु भएको छ । उनी लामो समयदेखि मृगौला रोगबाट पीडित थिए ।

ललितपुरको मटारबाट भारत सरेका भीमबहादुर सिंह र चुनमाया मिजारको कोखबाट कलकत्तामा सन् १९३१ मा मनोहरि जन्मेका थिए । सांगीतिक परिवारमा हुर्केका उनलाई बलिउड संगीतकार एसडी बर्मनको ‘सितारों से आगे’ फिल्मका गीतमा सेक्सोफोन बजाउने पहिलो ब्रेक मिलेको थियो । त्यसपछि उनले एसडीका छोरा संगीतकार आरडी बर्मनका पहिलो फिल्मदेखि अन्तिमसम्म चिफ एरेन्जरका रूपमा काम गरेका थिए । उनले लक्ष्मीकान्त-प्यारेलाल, शंकर-जयकिशन, सी रामचन्द्र, मदनमोहन, रोशन -हृतिक रोशनका बाजे) जस्ता भारतीय संगीतकारसँग जीवनभर काम गरे ।

चलचित्रकर्मी तथा गीतकार यादव खरेलले ‘चेलीबेटी’ चलचित्रको गीत रेकर्ड क्रममा २०४५ तिर मनोहरिसँग भेट भएको उल्लेख गर्दै ‘भारतीय सगीत उद्योगका समेत प्रतिष्ठित व्यक्तित्व’ को निधनले आफू दुःखित भएको बताए । ‘भारतमै पनि सबैले मान्ने व्यक्तित्व हनुहुन्थ्यो,’ खरेलले भने, ‘नेपालीप्रति उहाँ विशेष सहानुभूति र प्रेम प्रकट गर्नुहुन्थ्यो ।’

मनोहरिले खरेलकै ‘प्रेमपिण्ड’ मा पनि म्युजिक एरेन्ज गरेका थिए । ‘यी दुई फिल्म जसरी हिट भए,’ खरेलले सम्झे, ‘त्यसमा उहाँको पनि निकै ठूलो हात छ ।’ मनोहरिसँग नजिक रहेर अनुभव बटुलेका संगीतकार शम्भुजित बास्कोटाले एउटा स्टुडियोमा गीत रेकर्ड गरिरहेकै बेला निधनको खबर सुने । ‘त्यसपछि म रेकर्डिङ नै रोकेर घर फर्कें,’ ६ महिनाअघि मात्र ‘म्युजिकल जर्नी’ एल्बममा मनोहरिसँगै काम गरेका उनले भने, ‘मुम्बई संगीत उद्योगकै लागि ठूलो हानि हो ।’

‘चेलीबेटी’ कै क्रममा भेटेका बास्कोटाले मनोहरिसँग ‘प्रेमपिण्ड’, ‘महामाया’, ‘कन्यादान’ लगायत दर्जनौं नेपाली चलचित्रको संगीतमा काम गरे । ‘पछिल्लोपटक मुम्बईमा उहाँकै घरमा भेट हुँदा उहाँ मृगौलाको डायलासिस गराइरहनुभएको थियो,’ बास्कोटाले भने, ‘अचम्म के भने, जति बिरामीले च्याप्दै लान्थ्यो उहाँ झन् त्यत्तिकै सक्रिय हुनुहुन्थ्यो ।’ बास्कोटाको ‘म्युजिकल जर्नी’ मा मनोहरिले तीन गीतका लागि धुन भरेका थिए । ‘सायद यी उहाँले भर्नुभएका अन्तिम नेपाली धुन हुनसक्छन्,’ उनले भने, ‘फिल्म संगीतका लागि बम्बई संगीत उद्योगकै कमान्डिङ व्यक्तित्व गुम्यो ।’

मनोहरि सहितलाई समेटेर ‘बलिउड विदाउट बोर्डस’ वृत्तचित्र बनाइरहेका शेखर खरेल पनि उनको निधनको खबर सुनेर स्तब्ध भए । ‘बलिउडमा सेक्सोफोन मनोहरिका लागि बनेको भन्थे ।’ अद्भुत प्रतिभाका व्यक्तित्वलाई खरेलले वृत्तचित्रका लागि गत जनवरी र फेब्रुअरीमा मुम्बईमा भेटेका थिए । छायांकन क्रममा मनोहरिले निजी समारोहमा सेक्सोफोन बजाएको सुन्ने र हेर्ने मौका उनले पाएका थिए । ‘भनिन्थ्यो मनोहरिको हातमा बाजाले गाउँछ,’ उनले भने, ‘उनको त्यो जादुमय बजाइमा त्यो भनाइ साँचो लाग्यो ।’

झन्डै एक दशक मनोहरिसंगै मुम्बईमा बिताएका अर्का चलचित्रकर्मी प्रकाश सायमीका अनुसार पहिलोपटक उनले नेपालमा ‘पृथ्वी’ चलचित्रका लागि सेक्सोफोन बजाएका थिए । सायमीले आपmनो पछिल्लो कृति ‘नेपाली संगीतको एक शतक’ मा पनि मनोहरिको सांगीतिक योगदानको चर्चा गरेका छन् ।

‘उहाँ सधैं अम्बर गुरुङलाई नेपालले चिनेन भनिरहनुहुन्थ्यो,’ सायमीले भने, ‘जोजो उहाँलाई खोज्दै जान्थे, उनीहरूलाई अम्बर गुरुङ नेपालमा हुँदाहुदै यहाँ किन आउँछौ भन्नुहुन्थ्यो ।’ पछिल्लो पटक ‘इन्डियन आइडल’ मा केही साताअघि मात्र मनोहरि आरडी बर्मनको म्युजिक पिससहित प्रस्तुत भएका थिए, जहाँ बर्मनपत्नी गायिका आशा भोसलेले उनको हात समाउँदै ‘मनोहरि आरडीको दाहिने हात’ भनेकी थिइन् । त्यही उनको अन्तिम सार्वजनिक प्रस्तुति थियो ।